Paschim Express
सीपमूलक तालिम दिन व्यावसायिक शिक्षालय स्थापना गर्दै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा व्यावसायिक शिक्षालय स्थापना गरिने भएको छ। बेरोजगार जनशक्तिलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले उपमहानगरसँगको सहकार्यमा नेपाल युथ फाउन्डेसनद्वारा सञ्चालित ओल्गापुरी भोकेसनल स्कुलले धनगढीमा व्यावसायिक शिक्षालय स्थापना गर्न लागेको हो । 

व्यावसायिक शिक्षालय स्थापनाका लागि दुवै पक्षबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षालय स्थापना गर्न उपमहानगरले धनगढी– १८, फूलबारीमा करिब चार बिघा जमिन उपलब्ध गराउन लागेको छ । व्यावसायिक शिक्षालय भवनको डिजाइन तयार भइसकेको र डेढ वर्षभित्र शिक्षालयका सबै संरचना निर्माण गरिसक्ने लक्ष्य लिइएको नेपाली युथ फाउन्डेसनका सञ्चालन निर्देशक विश्व गोर्खालीले जानकारी दिएका छन् ।

संरचना निर्माण नभएसम्मका लागि फूलबारी बहुमुखी क्याम्पसको भवनमा तालिमहरू सञ्चालन गरिनेछ । प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम यसै साताबाट सुरु गरिएको छ। उपमहानगरका अनुसार यी दुवै तालिममा ५० जना प्रशिक्षार्थी सहभागी छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update