Paschim Express
पिएम कप सुदूरपश्चिम छनौट खेल्न डडेल्धुरा क्वालिफायर

डडेल्धुरा । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्न डडेल्धुरा क्वालिफायर भएको छ । हिजो सम्पन्न फाइनल खेलमा अछामलाई ७ विकेटले स्तब्ध पार्दै डडेल्धुरा च्याम्पियन हुँदै क्वालिफायर भएको हो ।

अछामले दिएको ७४ रनको लक्ष्य डडेल्धुराले ८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । जसमा प्लेअर अफ द ओम्यान भएकी सुनिता साउँदले अविजित ४७ र निशा खडायले १४ रन जोडिन् । अछामका लागि अस्मिता औजीले २ र कविता सोनारले १ विकेट हात पारिन् ।

गत वर्षको प्रदेशस्तरीय छनौट प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेका डडेल्धुरा, दार्चुला, डोटी र अछामबीच क्वालिफायर गराइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट समितिका उपाध्यक्ष तथा प्रतियोगिता सञ्चालन समितिका संयोजक रमेशबहादुर बोहराले जानकारी दिए । यसअघि अन्तिम चारमा पुगेका बैतडी, बझाङ, कैलाली कञ्चनपुरसंगै अब डडेल्धुराले प्रदेश छनौट खेल्न पाउनेछ ।

प्रदेशस्तरीय छनौट प्रतियोगिता आइतबारदेखि कैलालीको शैनिक आवाशिय महाविद्यालयको खेलमैदानमा शुरु हुदैछ ।

फाइनल खेल मंसिर २९ गते अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टोलीबीच हुने जनाइएको छ ।प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले टोली बनाएर राष्ट्रिय प्रतियोगिता खेल्नेछन् ।

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update