Paschim Express
संघीय स्वास्थ्य समितिद्वारा डडेल्धुरा मेडिकल कलेजको अनुगमन 

डडेल्धुरा । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेजको अनुगमन गरेको छ । सोमबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन कलेजको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समितिले हाल भौतिक संरचना निर्माणको प्रगतिका बारेमा जानकारी लिएको थियो । समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, डडेल्धुरा अस्पतालका पदाधिकारीसँग पनि छलफल  गरेको थियो ।

अनुगमनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ६ जना सदस्यसहित, उपसचिव पुष्पप्रकाश खनाल, प्रदेश सभा सदस्य ताराप्रसाद जोशी, अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र डडेल्धुरा अस्पतालका निमित्त मेसु नविनकुमार खड्काको सहभागिता रहेको थियो ।

393146850_737315454928873_2772672241140683759_n-1702271250.jpg

चिकित्सा शिक्षा आयोगले डडेल्धुरा मेडिकल कलेजका लागि १० जनाको कोटा निर्धारण गरेकोमा ७ जना छात्रवृत्तिमा अध्ययनका लागि छनोट गरेको छ । उनीहरुको नाम नै सार्वजनिक गरेर सुदूरपश्चिम विश्वविद्यालयमा भर्ना हुन आग्रह पनि गरेको थियो । 

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार बाँकी तीन जना भने शुल्क तिरेर अध्ययन गर्न पाउने भएका छन् । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाएकोमा चिकित्सा शिक्षा आयोगले असोज दोस्रो साता कक्षा सञ्चालनका लागि अनुमति दिएको थियो ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update