Paschim Express
सुदूरपश्चिममा यसकारण भयो डा. गोविन्द केसीको विरोध

डडेल्धुरा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा २१औं अनसन सुरु गरेका उनले धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । 

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् । तीन दिने अनसनको क्रममा कैलाली पुगेका डाक्टर गोविन्द केसीको अनसनको स्थानीय स्तरबाटै विरोध भइरहेको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ गेटामा निर्माण भएको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको लागि स्थानीयहरू संघर्ष गर्दै आएका छन् । 

तर २९ मंसिरेदेखि अनसन सुरु गरेका केसीले विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अडानमा बसेपछि उनको विरोध भइरहेको हो । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अनसन बस्न आएका केसीसँग सरकारसँगको मागमा विश्वविद्यालय नभएको भन्दै संघर्ष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर धनगढी फर्किएका थिए ।

त्यसपछि धनगढीस्थित कृष्ण मन्दिरमा उनले अनसन सुरु गरेका थिए । गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशवासीको मागविपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको स्थानीयको भनाई थियो । 

शनिबार नै धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले डाक्टर केसीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेको थियो । हाल सर्वसाधारणदेखि राजनीतिकर्मी, पेसाकर्मीहरुले केसीको अनसनको विरोध गरिरहेका छन् । डाक्टर केसीले भने सरकार र आफूबिच भएको सम्झौता कार्यान्वयनको लागि अनसन बसेको बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update