Paschim Express
कैलालीमा नक्कली शिक्षक, अदालतमा मुद्दा

कैलाली: कैलालीको एक विद्यालयमा कार्यरत राहत शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले शुक्रबार घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध मुद्दा दायर गरेको हो।

शाहले इण्टरमिडियटको नक्कली सर्टिफिकेट पेश गरी अध्यापन गरेकोले उनको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न परेको उजुरीमाथि अनुसन्धान हुँदा उजुरी वास्तविक देखिएको अख्तियारको दावी छ।

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा प्रमाणित भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शाहले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update