Paschim Express
डडेल्धुरा प्रशासनमा छैनन् दरबन्दीअनुसार कर्मचारी, अवस्थीलाई दोहोरो जिम्मेवारी

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाई हुने गरेको छ ।

कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार कार्यालयमा २० जनाको दरबन्दी रहेको छ । ‘२० जनाको दरबन्दी रहेकोमा अहिले १४ जना मात्रै कार्यरत छौं,’ उनले भने, ‘बाँकी ६ जनाको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा निकै समस्या भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सहसचिव स्तरको एकजना प्रमुख जिल्ला अधिकारी, उपसचिव स्तरको एकजना सहायक प्रमुख जिल्ला अधिकारी, अधिकृत स्तरका दुई जना प्रशासकीय अधिकृत, ४ जना नायब सुब्बा तथा अन्य खरिदार, कार्यालय सहयोगी र सवारी चालक गरी २० जनाको दरबन्दी रहेको छ ।

तर सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत र तीन जना नायब सुब्बाको दरबन्दी लामोसमयदेखि रिक्त छ । प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने पनि दरबन्दीअनुसार सहसचिव स्तरका होइनन् । 

सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत र तीन जना नायब सुब्बाको दरबन्दी रिक्त हुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाई र सेवा प्रवाहमा समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । दसैं अगाडिसम्म प्रशासकीय अधिकृतमा जितेन्द्र ओझा कार्यरत थिए ।

तर, ओझाको अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएपछि जिल्ला प्रशासन कार्यालयमा एकजना प्रशासकीय अधिकृत छैनन् । कार्य सम्पादनमा निकै समस्या भएपछि डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीलाई काजमा खटाएर अहिले दोहोरो जिम्मेवारी दिइएको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी न्यौपाने जिल्लाबाहिर गएपछि अवस्थीलाई नै निमित्ति प्रमुख जिल्ला अधिकारीको पनि जिम्मेवारी दिएको छ ।

सेवाग्राहीको भिड हुने कार्यालयमै दरबन्दीअनुसार कर्मचारी नभएपछि सेवा प्रवाहमा समस्या भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताए । 

जिल्ला प्रशासन कार्यालयमा नागरिकत, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि दैनिक सेवाग्राही पुग्ने गरेका छन् भने बजार अनुगमन, विपद् व्यवस्थापनको जिम्मेवारी पनि प्रशासन कार्यालयकै छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update