Paschim Express
अब डडेल्धुराको रुपालमै उच्च शिक्षा, क्याम्पस सञ्चालन गर्न ३० लाख संकलन

डडेल्धुरा । डडेल्धुराको रुपाल र आसपासका क्षेत्रमा चार वटा माध्यमिक विद्यालय छन् । एक शैक्षिक सत्रमा चार विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्ने विद्यार्थीको संख्या डेढ सयको हाराहारीमा हुन्छ । तर, ती सबै विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जान बाध्य हुन्छन् । 

उच्च शिक्षाका लागि जिल्ला सदरमुकाम, कैलाली, कञ्चनपुर, संघीय राजधानी वा विदेश ताक्नुपर्ने बाध्यता विद्यार्थीको छ । उक्त बाध्यताको अन्त्य गर्नका लागि भागेश्वर गाँउपालिका वडा नम्बर २ मा रुपाल बहुमुखी क्याम्पस संञ्चालन गर्ने तयारी भएको छ । 

रुपालमा ०१८ सालमा स्थापना भएको असिग्राम माध्यमिक विद्यालयलाई रुपाल बहुमुखी क्याम्पसको रुपमा संञ्चालन गर्ने तयारी भएको हो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डेले क्याम्पस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 

‘क्याम्पस सञ्चालनका लागि हामीले सुदूरपश्चिम विश्वविद्यालयलाई सम्बन्धन दिन आग्रह गर्दै निवेदन लेखेका थियौं,’ प्रधानाध्यापक पाण्डेले भने, ‘विश्वविद्यालयले दुईपटक सम्भाव्यता अध्ययनका लागि टोली पठाएको थियो । अब यसै महिनाभित्र क्याम्पस सञ्चालनका लागि अनुमति प्राप्त हुन्छ भन्ने विश्वासमा छौं ।’ उनले सुरुवातमा शिक्षा संकायको अध्ययन सुरु गर्ने तयारी रहेको बताए । 

पाण्डेका अनुसार सुरुवाती चरणमा क्याम्पस खोल्नको लागि ४५ लाख आवश्यक छ । ‘१५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने र ३० लाख बरावरको अक्षयकोष खोल्नु पर्ने भएकोले क्याम्पस सञ्चालनका लागि सुरुमै ४५ लाख आवश्यक छ,’ उनले भने, ‘उक्त रकम जम्मा गर्नका लागि हामीले आर्थिक संकलन अभियान सुरु गरेका थियौं । अहिलेसम्म ३० लाख संकलन भइसकेको छ । अझै उक्त अभियान जारी छ ।’

क्याम्पस संञ्चालनका लागि हाल अमेरिकामा रहेका पदम ठकुराठीले अमेरिकामै आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । त्यहाँबाट १७ लाख ३२ हजार ४९ रुपैयाँ संकलन गरि पठाइएको छ । यस्तै रुपाल क्षेत्रका विभिन्न सामुदायिक वनले पनि क्याम्पस सञ्चालनका लागि सहयोग गरेका छन् भने रुपालका स्थानीय बासिन्दा, शिक्षक, कर्मचारी पनि उक्त अभियानमा लागेका छन् । 

डडेल्धुरा घर भई हाल जापान रहेका युवा समाजसेवी विनयप्रकाश मल्लले पनि आर्थिक सहयोग गरेका छन् । उनले बहुमुखी क्याम्पस स्थापनाका लागि ५० हजार सहयोग गरेका हुन् । ‘रुपाल क्षेत्रका विद्यार्थीहरुलाई १२ कक्षा पश्चात थप अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता छ,’ असिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डेले थपे, ‘यसै शैक्षिक सत्रदेखि उक्त बाध्यताको अन्त्य गर्ने हाम्रो लक्ष्य छ । यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update