Paschim Express
सुदूरपश्चिमका अस्पतालमा छैनन् दरबन्दीका मुटुरोग विशेषज्ञ, उपचार नपाएरै जान्छ ज्यान

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको जनसंख्या झण्डै २७ लाख छ । उक्त जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्न एउटा संघीय अस्पताल, दुई प्रादेशिक अस्पतालसंगै जिल्ला अस्पताल, जिल्लास्तरीय अस्पताल र स्वास्थ्य चौकी छन् । तर, मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवा पाउन भने निकै कठिन छ । त्यसमा पनि मुटु रोगको उपचार पाउन त झनै मुस्किल छ ।

आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढ्दो छ । तर, सुदूरपश्चिमका कुनै पनि अस्पतालमा दरबन्दीका मुटुरोग विशेषज्ञ चिकित्सक छैनन् । सेती प्रादेशिक अस्पतालमा चिकित्सा परिचालनअन्तर्गत छात्रवृत्तिमा अध्ययन गरेका दुई जना मुटुरोग विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

तर, दरबन्दीमा भने मुटुरोग विशेष डाक्टर सेती प्रादेशिक अस्पतालले अझै पाउन नसकेको अस्पतालका मेसु डा. शेरबहादुर कमरले बताए । ‘छात्रवृत्तिमा अध्ययन गरेका दुई जना मुटुरोग विशेषज्ञ चिकित्सकले अहिले सेवा दिइरहनुभएको छ,’ डाक्टर कमरले भने, ‘तर अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी सुरुवातदेखि नै रिक्त छ ।’ उनका अनुसार सेती प्रादेशिक अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा मुटुसम्बन्धी समस्याले ग्रसित भएका बिरामी पुग्ने गरेका छन् । 

सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पनि मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी छ । अस्पतालका अध्यक्ष करुणाकर ओझाले भने, ‘मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । तर मुटुसम्बन्धी सामान्य उपचार भने अन्य चिकित्सकले गर्दै आएका छन् ।’ मुटुरोग विशेषज्ञ चिकित्सक नहुँदा बिरामी भने उपचार पाउनबाट बञ्चित भएका छन् ।

सुदूरपश्चिम हर्ट केयर फाउण्डेशनका अध्यक्ष धर्मसिंह धामीले प्रदेशभित्र मुटुरोगी कति छन् भनेर एकिन तथ्यांक नभए पनि मुटुरोगीको संख्या थप हुँदै गएको बताए । ‘प्रदेशमा ३ देखि ४ हजारको संख्यामा मुटुको शल्यक्रिया गरेका बिरामी छन् भन्ने हाम्रो आकलन छ,’ धामीले भने, ‘त्याबाहेक मुटुको समस्या भएका बिरामी त हजारौं छन् होला । मुटुरोग विशेषज्ञ चिकित्सक नै नभएका कारण धेरैले त रोग पहिचान नै नभएर ज्यान गुमाएका छन् ।’

पहिचान गर्नै मुस्किल
सुदूरपश्चिमको डडेल्धुरा अस्पताल रसेती प्रादेशिक अस्पतालमा गरी २ जना मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि सुरुवातदेखि नै रिक्त छ । चिकित्सा परिचालनअन्तर्गत छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक बेला–बेला आउने गरे पनि उनीहरुलाई वर्षदिन टिकाउन पनि मुस्किल हुन्छ । जसका कारण मुटुरोगको पहिचान गर्नै समस्या छ ।

प्रदेशमा मुटुरोगका विशेषज्ञ चिकित्सक नभएपछि हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढ्दै गएको सुदूरपश्चिम हर्ट केयर फाउण्डेशनका अध्यक्ष धामी बताउँछन् । ‘विशेषज्ञ चिकित्सक नै नभएपछि मुटु दुखेपछि पनि बिरामी उक्त पीडा दबाउन बाध्य भइरहेका छन्,’ उनले भने, ‘जसका कारण सिकिस्त भएपछि मात्रै बिरामीहरू अस्पतालमा पुग्छन् र ज्यान गुमाउन बाध्य हुन्छन् । हाम्रा अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टर उपलब्ध हुन्थे भने उपचारका लागि गइहाल्थे होला । तर चिकित्सक नै नभएपछि कहाँ उपचार गर्न जानु ?’ विशेषज्ञ डाक्टरको अभावमा प्रदेशवासीलाई मुटु स्वस्थ छ वा छैन भन्ने विषयमा जानकारी राख्न पनि समस्या भइरहेको उनले बताए । 

चिकित्सकका अनुसार ४० वर्ष कटपछि कम्तीमा पनि ४० प्रतिशत जनसङख्यालाई कुनै न कुनै किसिमको मुटुसम्वन्धीको रोग हुने गरेको छ । यसै क्षेत्रमा मुटु रोगका विशेषज्ञ चिकीत्सकको उपलव्धता भए नियमित निगरानीमा रहन र हृदयघातपछि एक घण्टा भित्रै विशेषज्ञ सेवा पाएर ज्यान जोगाउन निकै सजिलो हुने उनीहरुको तर्क छ । प्रदेशमा मुटुको शल्यक्रिया गरी भल्व फेरेका विरामी पनि विशेषज्ञ डाक्टर नहुँदा समस्यामा पर्दै आएका छन् । 

मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै
पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको छ । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकहरु बताउँछन् । यस्तै शुक्रबार विश्व मुटु दिवस पनि मनाइएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update