Paschim Express
डडेल्धुरा सदरमुकामको सडक विस्तार : डिपिआरको काम सुरु

डडेल्धुरा । जिल्ला सदरमुकामको सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य सुरु भएको छ । शुक्रबारदेखि डिपिआर निर्माणको काम थालिएको हो । सडक विभागले डिपिआर निर्माणका लागि एक परामर्शदाता कम्पनीलाई जिम्मा दिएकोमा उक्त परामर्शदाता कम्पनीले डिपिआरको काम सुरु गरेको हो । 

No description available.

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का लगायतको उपस्थितिमा आज डिपिआर निर्माणको काम सुरु गरिएको हो । सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर पदम पन्तका अनुसार जिल्ला सदरमुकामको बागबजार–उग्रतारा सडक निर्माणको काम अगाडि बढाउनका लागि दोस्रोपटक डिपिआरको काम सुरु भएको हो ।

‘यसअघि पनि विस्तृत परियोजना प्रतिवेदन तयार पारेका थियौं,’ उनले भने, ‘तर, भौतिक संरचना भत्काएपछि पहिले निर्माण गरिएको डिपिआरमा केही त्रुटि देखियो । त्यसैले सडक विभागले नै परामर्शदाता कम्पनीमार्फत दोस्रोपटक डिपिआर निर्माण गर्न सुरु गरेको हो ।’ इन्जिनियर पन्तका अनुसार सडक निर्माणका लागि ठेक्का पनि विभागबाटै हुने जानकारी दिए । ‘मुआब्जाबापत छुटेको रकम भुक्तानी गर्नका लागि एक साताभित्रै बजेट आउने जानकारी आएको छ,’ पन्तले भने, ‘सडक निर्माणका लागि ठेक्का भने विभागले नै गर्ने जनाएको छ ।’

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका एक सय ६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको छ । मुआब्जाको सम्पूर्ण रकम पाएका घर तथा जग्गा धनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक डिभिजन कार्यालय डोटी र अमरगढी नगरपालिकाले डोजर लगाएर सडक क्षेत्र खाली गरेको छ । 

जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरकफरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।

सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ । ३० मिटर चौडा बनाउनका लागि डिपिआरको काम सुरु भएको हो । 

No description available.

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update