Paschim Express
डडेल्धुराकी मिस पवि ‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै

काठमाडौं । टिकटकबाट चम्किएका डडेल्धुराकी मिस पवि (पवित्रा शाँकी) ले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।

फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यी मिस पवि र सिम्रन पन्तले टिकटकलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिए । ‘अहिलेसम्म सोसल मिडिया र म्युजिकमा मात्र काम गरेको थिएँ,’ मिस पविको नामले चर्चित शाँकीले भनिन्, ‘मलाई आशा गरेर फिल्ममा लिनुभएको छ । राम्रो काम गर्न पाऊँ भन्नेमा आशावादी छु ।’

अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन् । टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन् ।

उनी भन्छिन्, ‘टिकटक एक प्लाटफर्म मात्र हो । मनोरञ्जनको रुपमा मैले टिकटकलाई लिएर गइरहेको थिएँ । धन्यवाद टिकटक जसले मलाई पपुलारिटी दिएको छ ।’

एक वर्षदेखि मुम्बईमा बस्दै आएकी सिम्रनले त्यहाँ नृत्य र अभिनय सिकेको बताइन् । ‘काम गर्न सक्छु भन्ने आशले यो फिल्ममा जोडिएको छु,’ उनले भनिन् । फिल्ममा उनीहरुको भूमिकाबारे बताइएको छैन । दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update