Paschim Express
डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालमा सुरु भयो  ‘त्रिदिवसीय सरसफाई कार्यक्रम’

डडेल्धुरा । डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालमा त्रिदिवसीय सरसफाई कार्यक्रम सुरु भएको छ । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ३ मा रहेको पर्यटकीय क्षेत्र आलितालमा सरसफाई कार्यक्रम सुरु गरिएको हो । आलिताल गाउँपालिका र रणबम गण डडेल्धुराको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीको अध्यक्षतामा सुरु भएको त्रिदिवसीय ताल सरसफाई कार्यक्रममा परशुराम नगरपालिकाका मेयर भरत जोशी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, अमरगढी नगरपालिकाका उपमेयर पार्वती झुकाल, गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा लगायतका विभिन्न पालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

यस्तै डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणको पनि सहभागिता रहेको थियो । 

रणबम गणका गणपति प्रविन थापाका अनुसार ‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीन दिने ताल सरसफाई कार्यक्रम आयोजना गरिएको हो । ९ गतेसम्म सञ्चालन हुने सरसफाई कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरिएको उनले बताए । 

समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको आलिताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिने देखिन्छ। एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update