Paschim Express
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बीचमा सीमा विवाद, मुख्यमन्त्रीबिच छलफल

टीकापुर : सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बिचमा सीमा विवाद रहेको छ । दुइ प्रदेशको बिचमा रहेको कर्णाली नदी क्षेत्रमा सीमा विवाद रहेको हो ।

सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबिच छलफलसमेत भएको छ । उनीहरूको बिचमा सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधानको विषयमा छलफल भएको हो। दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ ।

टोलीले आगामी फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रत सर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने सहमति भएको हो । बर्दियाको ठाकुरद्वारामा भएको छलफलमा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमि सुधारमन्त्री तथा प्रदेश सांसदको उपस्थिति थियो ।

छलफलमा दुवै प्रदेशका कैलाली टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका गरी तीन र बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, बर्दिया र कैलालीका नापी प्रमुखको सहभागिता थियो ।

कर्णाली नदीका कारण बर्दिया र कैलालीमा सीमा विवाद रहेको छ । नदीले धार परिवर्तन गर्दा र नापी पनि नभएका कारण दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन्। सीमाको सबैभन्दा बढी विवाद टीकापुर–८ र राजापुर नगरपालिका–४ मा छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update