Paschim Express
पिएम कप क्रिकेटकाे सुदूरपश्चिम  छनाैट सुरू : डडेल्धुराकाे विजयी सुरूवात

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट आजदेखि बैतडीमा शुरू भएकाे छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सम्पन्न  उद्घाटन खेलमा  डडेल्धुरा विजयी भएकाे छ । 

डडेल्धुराले सुखद शुरूवात गर्ने क्रममा दार्चुलामाथि २ विकेटको संघर्षपूर्ण जित निकाल्याे ।  जितका लागि पाएकाे ७९ रनकाे  सामान्य लक्ष्य डडेलधुराले १८.२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायाे । जसमा विशाल ऐरले सर्वाधिक २३ रनकाे याेगदान गरे । दार्चुलाका विरेन बम र दिनेश कार्कीले ३/३ विकेट हात पारे । 

यसअघि पहिला ब्याटिङ गरेकाे दार्चुला २१.५ ओभरमा ७८ रनमा समेटियो । उसका दिनेश कार्कीले २४ रनकाे याेगदान गरे । डडेल्धुराका निरज ऐरले ४ विकेट हात पारे। निरज खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर नरेन्द्र चन्दले बताए ।

प्रतियोगिता अन्तरगत भाेलि दार्चुला र डाेटीबीच प्रतिस्पर्धा हुनेछ ।  उद्घाटन खेलअघि आज  प्रतियोगिताकाे एक कार्यक्रम गरेर उद्घाटन गरिएको छ । उद्घाटन समाराेहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडीका प्रमुख जिल्ला अधिकारी  भीमकान्त शर्मा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशी लगायतको उपस्थिति रहेकाे थियोे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजनामा प्रतियोगिता सञ्चालन भएकाे हाे । 

प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ ।  पहिलाे चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दाेस्राे चरणमा  कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् । 

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डाेटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी छन् । 

गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले  साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । 

प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताए ।

ईलिट च्याम्पियनसिपकाे उद्घाटन खेलमा  पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीबीच खेल हुनेछ ।

खेलाडीहरूकाे क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपकाे आयाेजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update