Paschim Express
सुदूरपश्चिमका २२ पालिकाले सञ्चालनमा ल्याए ‘आसरा’ सुधार केन्द्र

धनगढी । सुदूरपश्चिमका २२ स्थानीय तहले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा ल्याएका छन् । लागुऔषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

नेपाल प्रहरी, श्रीमती सङ्घको निगरानीमा रहेको आसरा सुधार केन्द्र बुधवार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । केन्द्रलाई धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेको बताए । उनले दुर्व्यसनीमा परेका परिवारका सदस्यका कारण घर परिवार तहसनहस भइरहेको भन्दै सुधार केन्द्र सञ्चालनमा सहयोग गरेको बताए । 

सुधार केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले १० लाख, अन्य कैलाली र कञ्चनपुरका नगरपालिकाहरूले पाँच, पाँच लाख तथा गाउँपालिकाहरूले तीन, तीन लाखका दरले सहयोग गर्ने सम्झौता प्रहरी श्रीमती सङ्घसँग गरेका छन् ।

यसैबिच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले २० वर्षका लागि धनगढी उपमहानगरसँग सम्झौता भए पनि प्रहरीले लामो समयसम्म आसरा सुधार केन्द्र फूलवारी सञ्चालन गर्ने बताए । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लागु औषधले भविष्यका ढोकाहरू बन्द गर्ने गरेको बताए ।  आसरा सुधार केन्द्रमा २ सय जना दुर्व्यसनीहरूलाई राख्न सकिने व्यवस्था छ । जसमा उनीहरूलाई बिरामीको शैलीमा उपचार गरिने पनि जनाइएको छ । प्रहरीले एम्बुलेन्ससहितको उपचार सेवा समेत उपलब्ध गराउने छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update