Paschim Express
योजनाको अनुगमन गर्न मन्त्री देउवा सुदूर पहाडमा, डडेल्धुरा बहुमुखी क्याम्पसको भवन उद्घाटन

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै मन्त्री देउवाले विगतमा ६ हजार विद्यार्थी रहेको क्याम्पसमा अहिले विद्यार्थी संख्या निकै घटेकोले क्याम्पस सुधारमा सबैले लाग्नुपर्नेमा जोड दिए । ‘डडेल्धुरा बहुमुखी क्याम्पसमा विगतमा पनि प्रदेश सरकारको केही बजेट थियो,’ मन्त्री देउवाले भने, ‘क्याम्पसको विकासका लागि प्रदेश सरकार अहिले पनि तयार छ ।’

मन्त्री देउवाले डडेल्धुरामा बजेटको समस्या नभएर कार्यान्वयनमा समस्या रहेको पनि बताए । ‘गत वर्ष पनि डडेल्धुरामा मात्रै थुप्रै बजेट फ्रिज गएको थियो,’ उनले भने, ‘यसवर्ष पनि त्यस्तै समस्या देखिरहेको छु । आएको बजेट कार्यान्वयन गर्नका लागि सबैले सक्रियता देखाउन आवश्यकता छ ।’

कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य सरस्वती खड्काले डडेल्धुरा बहुमुखी क्याम्पसमा विगतमा पनि थुप्रै काम भएको बताउँदै बाँकी काम गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकार तयार रहेको बताइन् । क्याम्पस प्रमुख गंगा उप्रेतीका अनुसार त्रिभुवन विश्वविद्यालयको एक करोडको लागतमा भवन निर्माण भएको हो ।

भवन उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय मेघराज खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपने लगायतको उपस्थिति रहेको थियो । 

यस्तै मन्त्री देउवाले डडेल्धुराको बागबजारमा भएको आगलागीको निरीक्षण पनि गरेका छन् । देउवा चार दिने कार्यक्रम बनाएर सुदूर पहाड आएका हुन् । उनले प्रदेशका डडेल्धुरासंगै डोटी, अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाको अनुगमन, निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update