Paschim Express
डडेल्धुरा सदरमुकाम अब सीसी क्यामेराको निगरानीमा

डडेल्धुरा । जिल्ला सदरमुकामका विभिन्न क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाँडा, खलंगा र बागबजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हो । सीसी क्यामेरा जडान गर्नका लागि अमरगढी नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयको निगरानी रहने गरी अमरगढी नगरपालिका वडा नम्बर ५ को मुख्य बजार क्षेत्रमा १२ वटा सीसी क्यामेरा जडान गरिएको नगर प्रमुख डिल्लीराज जोशीले जानकारी दिए । बजार क्षेत्रमा हुने चोरी, डकैती एवं अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र अपराध अनुसन्धान गर्नका लागि सीसी क्यामेरा जडान गरिएको उनको भनाई छ । 

बागबजार क्षेत्रमा यसअघि जिल्ला प्रहरी कार्यालयले केही थान सीसी क्यामेरा जडान गरेको थियो । तर उक्त क्यामेराको भिडियो प्रष्ट नदेखिने भएपछि चोरीमा संलग्नहरुको पहिचान हुन सकेको थिएन । उच्च गुणस्तरका सीसी क्यामेरा जडान गर्नुपर्ने प्रहरीको आग्रह र अपराधमा संलग्नको पहिचान हुनसक्ने क्यामेराको आवश्यकताका आधारमा उच्च गुणस्तरका सीसी क्यामेरा जडान गरिएको मेयर जोशीले बताए । \

तुफानडाडा चोकमा दुई वटा, खलंगाको महेन्द्र मावि अगाडिको चोकमा दुई वटा, खलंगाकै अमरगढी किल्ला अगाडि जिल्ला प्रहरी कार्यालयबाहिर एउटा र बाँकी सात वटा क्यामेरा बागबजारको बसपार्क र बजार क्षेत्रमा जडान गरिएको अमरगढी नगरपालिकाका सूचना प्रबिधि अधिकृत दानबहादुर साउदले जानकारी दिए । 

उनका अनुसार २५ गुणा जुमिङ क्षमता भएका रोटेट क्यामेरा जडान गरिएका छन् । यी क्यामेरामा प्रष्ट देखिने गुणस्तर भएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update