Paschim Express
‘एकलव्यको देशमा’ ल्याएर आए कैलाश पाण्डेय

डडेल्धुरा । साहित्यकार कैलाश पाण्डेयको कवितासंग्रह  ‘एकलव्यको देशमा’ बजारमा आएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा भएको एक कार्यक्रमका बीच कवितासंग्रह  ‘एकलव्यको देशमा’ कवितासंग्रह विमोचन गरिएको छ ।

सोही कार्यक्रममा साहित्यकार गणेश नेपालीको एकलब्य र कृष्णसिंह पेलाको फूलको प्रहार मुक्तक संग्रहको पनि विमोचन गरिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा तीन वटै कृतिको विमोचन गरिएको हो । 

यसअघि नेपाल–भारत अन्तर्राष्ट्रिय काव्योत्सवमा पनि ती तीन कृति विमोचन गरिएको थियो । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाण्डेयको कवितासंग्रह ‘एकलव्यको देशमा’, नेपालीको कवितासंग्रह ‘एकलव्य’ र गीतकार पेलाको मुक्तकसंग्रह  ‘फूलको प्रहार’ विमोचन गरेका थिए । 

डडेल्धुराका साहित्यकार पाण्डेयको एकलव्यको देशमा छैटौं कृति हो । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ थपलामा जन्मिएका पाण्डेका यसअघि बिर्सिएका नाउँहरु गीतसंग्रह ,बादलका बुट्टाहरु, नयाँनयाँ सागरहरु गजलसंग्रह ,भत्केका स्तम्भहरु र आकाश छुने रहर कविता संग्रह प्रकाशित छन् ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update