Paschim Express
डडेल्धुरा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

डडेल्धुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने बताएका छन् ।  आइतबार डडेल्धुरा अस्पतालको अनुगमन गरेपछि उनले हाल एक सय शय्यामा संचालित अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने बताएका हुन् ।

साथै उनले अस्पताल तीन सय शय्यामा स्तरोन्नति गर्नका लागि २ करोड बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।

हाल अस्पताललाई स्तरोन्नति गर्न आवश्यक ओएनएमको फाइल अर्थ मन्त्रालयमा रहेको बताउदै उनले त्यो स्वीकृत गरेर अस्पताललाई पाँच सय शय्यामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचीव रोशन पोखरेलले आगामी ३ वर्षपछि डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएसको अध्यापन सुरुवात हुनेसमेत जानकारी दिए ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयल उपकुलपति अम्मराज जोशीले डडेल्धुरा मेडिकल कलेजमा यसै माघदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु हुने बताए ।

अनुगमनकै क्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले डडेल्धुरा अस्पताल प्रदेशको सातै जिल्लालाई पाइक पर्ने भएकाले अस्पताल स्तरोन्नति भएपछि सबैलाई सहज हुने बताइन् । उनले अस्पतालको विकास र गुणस्तर सुधार्न आफूले कुनै कसर बाँकी नराख्ने बताइन् ।

डडेल्धुरा अस्पताल सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update