Paschim Express
डडेल्धुरा मेडिकल कलेजमा माघदेखि अध्यापन, ०८३ सालदेखि एमबीबीएसको पढाई

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएसंगै अब कक्षा सञ्चालनको तयारी भएको छ । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि माघदेखि कक्षा सञ्चालन गरिने भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए । 

‘एमबीबीएसको पढाई सुरु गर्नका लागि भने डडेल्धुरा अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ,’ आइतबार डडेल्धुरा अस्पतालमा आयोजित कार्यक्रममा उनले भने, ‘तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी २०८३ सालदेखि एमबीबीएसको पढाई सुरु गर्न सक्छौं ।’

यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरा अस्पतालमा छिट्टै स्तरोन्नति हुने बताएका छन् । आइतबार डडेल्धुरा अस्पतालको अनुगमनपछि आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । ‘अस्पताल स्तरोन्नतिका लागि संगठन सर्वेक्षण भएर फाइल अर्थ मन्त्रालय पुगेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन्छ ।’ मन्त्री बस्नेतले डडेल्धुरा अस्पताल स्तरोन्नतिका लागि सुरुवाती चरणमा दुई करोड बजेट पनि विनियोजन भइसकेको जानकारी दिए । 

उनले डडेल्धुरा अस्पतालमा चाँडै चिकित्सक पठाउने आश्वासन पनि दिएका छन् । स्थायी रूपमा जनशक्ति अभावको समस्या समाधान गर्नका लागि भने मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले अस्पतालको सेवा चुस्त बनाउनुपर्ने बताइन । अस्पतालको विकासका लागि सबै हातेमालो गरेर अगाडि बढेको बताउँदै उनले डडेल्धुरामा कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउने दाबी गरिन् । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले यसै आर्थिक वर्षभित्र डडेल्धुरा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने दाबी गरे । डडेल्धुरा अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्ने योजना भए पनि यो आर्थिक वर्षभित्र कम्तिमा पनि तीन सय शय्यामा अस्पताल स्तरोन्नति हुने उनको दाबी थियो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्यमन्त्री बस्नेतलाई १० बुँदे मागपत्र बुझाएका थिए । उनले अस्पतालको स्तरोन्नति गरिदिन र दरबन्दीअनुसार कर्मचारी पठाइदिन आग्रह गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update