Paschim Express
डडेल्धुरा सदरमुकामको सडक विस्तार : मुआब्जाका लागि सरकारले पठायो थप २३ करोड

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन मुआब्जाका लागि सरकारले थप २३ करोड बजेट पठाएको छ । यसअघि सडक क्षेत्रमा पर्ने जग्गा र घरको मुआब्जाकै लागि पहिलो चरणमा २० र दोस्रो चरणमा ३० करोड बजेट पठाइएकोमा सोही प्रयोजनका लागि थप २३ करोड बजेट पठाइएको हो ।

महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि २३ करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई प्राप्त भएको कार्यालयका प्रमुख रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार यसअघि मुआब्जाका लागि प्राप्त भएको ५० करोडमध्ये झण्डै ४२ करोड रकम घर तथा जग्गाधनीलाई वितरण गरिएको छ । 

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका एक सय ६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको थियो । सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख भट्टराईले अब तेस्रो चरणमा मुआब्जा वितरणका लागि प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । सोही विषयमा छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वपक्षिय बैठक राखिएको छ । 

बैठकमा प्रदेशसभा सदस्य सरस्वती खड्का, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने लगायत जिल्लास्थित सरोकारवालाको सहभागिता रहेको छ । जिल्ला सदरमुकामको सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पनि जारी छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर पदम पन्तका अनुसार जिल्ला सदरमुकामको बागबजार–उग्रतारा सडक निर्माणको काम अगाडि बढाउनका लागि दोस्रोपटक डिपिआरको काम भइरहेको हो । 

‘यसअघि पनि विस्तृत परियोजना प्रतिवेदन तयार पारेका थियौं,’ उनले भने, ‘तर, भौतिक संरचना भत्काएपछि पहिले निर्माण गरिएको डिपिआरमा केही त्रुटि देखियो । त्यसैले सडक विभागले नै परामर्शदाता कम्पनीमार्फत दोस्रोपटक डिपिआर निर्माण गर्न सुरु गरेको हो ।’ जिल्ला सदरमुकाम बागबजारदेखि उग्रतारासम्म ३० मिटर चौडा सडक निर्माण गर्ने योजना छ । सडकको क्षेत्राधिकार खाली भएपछि सडक निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढ्ने सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update