Paschim Express
डडेल्धुराको गन्यापधुरामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ रेलमा रहेको सीताराम माविमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रका खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धघाटन गरिन् । 

प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य खड्काले विद्यालयस्तरबाट खेलकुदको विकास हुन आवश्यक रहेकोमा जोड दिइन् । ‘वर्षको एकदुई दिन मात्रै नभएर विद्यालयले खेलकुदका गतिविधि नियमित रुपमै सञ्चालन गर्नुपर्छ,’ उनले भनिन्, ‘खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्न म पनि तयार छु । विद्यालयस्तरबाट नै खेलकुदका गतिविधि सञ्चालन भए खेलाडी उत्पादन गर्न पनि सकिन्छ ।’

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । पालिका अध्यक्ष कार्कीका अनुसार प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरकफरक वडामा सञ्चालन हुँदै आएको छ । यसपटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाका ७ विद्यालयको सहमागिता रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update