Paschim Express
भगवानकै ‘घर’मा चोरी भएको ४ महिना बितिसक्दा पनि किन पत्ता लागेन चोर ?

काठमाडौं । भागवानको मन्दिर(घर)मै चोरी ?  सुन्दा अचम्म लाग्छ, तर पछिल्लो समय देशभरी सानादेखि ठूला मन्दिरमा सुनचाँदीका मूर्ति, दानपेटीका, चढाएका गरगहना तथा पूजापाठका सामग्री चोरी हुने घटना सामान्य भएका छन्। पशुपतिनाथदेखि देशभर ठाउँ–ठाउँमा प्रख्यात धार्मिक स्थलहरुमै चोरी भएका घटनाहरु बाहिरिने गरेका छन्।

अझ रोचक कुरा के छ भने मन्दिर जस्तो ठाउँमा चोरी कसले गर्यो र किन गर्‍यो  भन्नेसम्म पत्ता  लाग्दैन। यस्तै घटना डडेल्धुरामा पनि भएको छ। 

गत वैशाखमा मात्रै डडेलधुराको प्रसिद्ध धार्मिक स्थलमा चोरी भयो। तर कसले  चोर्‍यो भन्ने विषयमा प्रहरीले कुनै प्रमाण हात पार्न सकेको छैन। 

परापूर्व कालदेखि नै उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। उक्त मन्दिर डडेल्धुरा सदरमुकामदेखि  करिब पाँच किलोमिटर पश्चिमपट्टी रहेको छ। सूदूरपश्चिममा रहेका नौ वटा भगवतीका मन्दिरहरूमा एक मानिने यो मन्दिर प्रति यहाँका  स्थानीय भक्तजनहरु विशाल आस्था बोकेर पूजापाठ गर्ने गर्छन्। सुदूरपश्चिमेलीहरुको महत्त्वपूर्ण आस्थाको केन्द्र मानिने  पवित्र  उग्रतारा मन्दिरबाट गत वैशाख २९ गते राति १ः३० बजे विभिन्न सामग्री चोरी भएका थिए।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार वैशाख २९ मा  चाँदीको  माला, चाँदीको मुकुट लगायत अन्य पूजापाठका सामान चोरी भएका थिए। तर, ४  महिना बितिसक्दा पनि ती सामान कसले लग्यो भन्ने कुरा अझै खुल्न सकेको छैन।  मन्दिर परिसरमा सिसीटिभी क्यामेरा जडान गरिएको भएता पनि सबैे क्यामेरा पूर्णरुपमा सञ्चालनमा भने नरहेको देखिन्छ।  

उक्त दिन कैद भएको भिडियोमा प्रष्ट नदेखिएकाले चोर यकिन गर्न नसकिने जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कार्कीले बताएका छन्। ‘यो केस अहिले पनि अनुसन्धानकै क्रममा छ। त्यहाँ भएका क्यामेरा पूर्णरूपमा सञ्चालनमा थिएनन्। जुन कैद भएको भिडियो छ त्यसमा क्लियर नदेखिएकाले चोर यकिन गर्न सकिने अवस्था छैन’ उनले भने।

उक्त सार्वजनिक भएको सिसीटिभी फूटेजमा एकजना कम्बल ओढेको व्यक्ति मन्दिरभित्र हिँडिरहेको देखिन्छ। तर उसको अनुुहार भने देखिँदैन। चोरी भएको यत्रो समय भइसक्दा पनि चोर पत्ता नलाग्नुले प्रहरीको क्षमतामाथि स्थानीले प्रश्न उठाइरहेका छन्। यस्तै उनीहरुको शंकाको घेरामा मन्दिर व्यवस्थापना समिति र स्थानीय पनि छन्। 

यस विषयमा उग्रतारा मन्दिर विकास समितिका कोषाध्यक्ष  श्याम ओझाले पनि अनुसन्धान भइरहेको बताए। ‘हामी पनि अनौपचारिक रुपमा स्थाीयहरुलाई सोधपुछ गर्दैछौं। अब यस्ता घटना दोहोरिन नदिन सर्तकता अपनाउने याजना पनि बनाएका छौं।’ उनका अनुसार आगामी दिनमा यस्तै घटना दोहोरिन नदिन बहुमुल्य सामान पूजा गर्ने दिन मात्रै निकाल्ने र अन्य दिनमा भराणमा सुरक्षित राखिने छ। 

मन्दिरबाट ३ वर्षअघि पनि करिब ४ तोला सुन चोरी भएको थियो। तर, ३ महिनापछि ती सबै चोरिएको  सुन मन्दिरभित्रै पाइएको थियो। 

अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ। तर त्यहाँका जानकारहरुका अनुसार उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म कतै भेटिएको छैन।

उग्रतारा मन्दिर धार्मिक मात्रै नभई डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ। यसले सुदूरपश्चिको पर्यटकीय क्षेत्रमा पनि उत्तिकै महत्व राख्दछ।  

त्यसर्थ  यहाँ भएका बहुमूल्य धार्मिक सम्पदाहरुमा चोरी निकासी र पैठारी रोक्नका लागि विशेष योजना बनाएर काम नगरे प्रदेशका अन्य सबै प्रख्यात मठमन्दिर संकटमा पर्ने देखिन्छ। यस्तै स्थानीय सरकारले पनि इतिहाससँग जोडिएका धार्मिक विषयवस्तुको संरक्षण गर्न पहल कदमी चाल्नुपर्ने देखिन्छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update