Paschim Express
अमरगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई

डडेल्धुरा । अमरगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माविले जितेको छ । अमरगढी नगरपालिकाको आयोजना र महेन्द्र माविको व्यवस्थापनमा सुरु भएको  रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माविले जितेको हो । 

उसले २१ स्वर्ण, १४ रजत र ७ कास्य गरी कूल ४२ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ । बिहीबार आयोजना भएको पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाकी उपमेयर पार्वती झुकालले विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरलाई शिल्ड हस्तान्त्ररण गरिन् ।

प्रतियोगितामा माउन्टेन बोर्डिङ स्कुल बागबजार दोस्रो भएको छ । माउन्टेनले १० स्वर्ण, १४ रजत र ९ कास्य गरी कूल ३३ पदक जितेको छ । उसले दोस्रो स्थान हासिल गरेबाफत नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिकाले जनाएको छ । 

प्रतियोगितमा क्याम्ब्रिज पब्लिक स्कूल तृतीय भएको छ । तृतीय स्थान हासिल गरेको क्याम्ब्रिजले ९ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल १४ पदक जित्यो । क्याम्ब्रिजले १५ हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ ।

‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नारासहित भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता  थियो ।


 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update