Paschim Express
सुदूरपश्चिम सरकारमा सहभागी माओवादीका मन्त्री फिर्ता बोलाउन बहुमत सांसदको माग

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेशसभा सदस्यहरूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुनोसा गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता माल सहितका सात जना प्रदेशसभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम  सरकार हेरफेर गर्न आग्रह गरेका हुन् । भण्डारी,  धामी र मालसहित माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल, शिवसिंह ओली र लक्ष्मी विक सहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरे  । 

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्य मन्त्री गीता माल हुन् । शनिवार दुई मन्त्री र बाकी २ सांसद बाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नु पर्ने बताएका थिए ।

उनीहरुले त्यस क्रममा तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुख सहित ११ सांसद छन् । बालुवाटारमै सरकार हेरफेर गर्न ७ जना प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका हुन् ।

प्रदेश सभामा बहुमत प्रदेश सभा सदस्यहरुले नै सरकारमा गएका आफ्ना पार्टीका मन्त्रीहरू सुस्त भएको, सरकारको काम प्रभावकारी नभएको लगायतका गुनासो आएपछि यस विषयमा ठोस कदम अगाडी बढाउने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update