Paschim Express
डडेल्धुरामा निर्वाचनको मुखमा गरिएको थियो ‘भटमास उद्योग’ उद्घाटन, अझै सुरु भएन उत्पादन

डडेल्धुरा । ०७९ साल कात्तिक २७ गते डडेल्धुरामा भटमास प्रशोधन उद्योगको परीक्षण उत्पादन सफल भएको भन्दै उद्घाटन गरियो । फारवेस्टर्न  एग्रो जाइन्ट लिमिटेडले एक कार्यक्रमको आयोजना गर्दै उद्योगको परीक्षण उत्पादन सुरु भएको जानकारीसहित उद्घाटन गरेको थियो । तर उद्घाटन भएको १४ महिनासम्म उद्योगले उत्पादन भने सुरु गर्न सकेको छैन । 

फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडका व्यवस्थापक धर्म ऐरका अनुसार उद्योगमार्फत उत्पादन अझै सुरु गर्न नसकिएको हो । ‘भौतिक संरचना निर्माण गरेर सोया मस्यौरा बनाउने र तेल रिफाइनिङ गर्ने प्लान्ट जडानको कार्य सकिएको छ,’ व्यवस्थापक ऐरले भने, ‘तेल पेल्ने प्लान्ट जडानको प्रक्रियामा छ । त्यसैले उद्योगमार्फत उत्पादन गर्न अझै दुई महिना लाग्ने देखिन्छ ।’ उनका अनुसार १४ महिना अगाडि उद्योगमार्फत सोया मस्यौराको परीक्षण उत्पादन गरिएको थियो । तर अहिले सोया मस्यौरा उत्पदान पनि नगरिएको व्यवस्थापक ऐरले बताए । 

०७९ मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनका लागि फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडका अध्यक्ष डा. तारा जोशी डडेल्धुराबाट उम्मेदवार थिए । निर्वाचनको ठिक एक साता अगाडि कात्तिक २७ गते उक्त उद्योगले परीक्षण उत्पादन सफल गरेको भन्दै उद्घाटन गरिएको थियो । ‘यो उद्योग मेरो कन्सेप्टअनुसार सुरु भएको हो । यसमा सबै राजनीतिक दलका साथीहरूको पनि साथ छ,’ ०७९ कात्तिक २७ गते जोशीले भनेका थिए, ‘भौतिक पूर्वाधार निर्माणका कामसँगै परीक्षण उत्पादन तथा उद्योग उद्घाटन भएको छ ।’ 

तर उद्घाटन भएको १४ महिनासम्म उत्पदान सुरु नभएपछि शेयर सदस्यहरु पनि निराश छन् । फारवेस्टर्न  एग्रो जाइन्ट लिमिटेडका अध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य जोशीले उद्योगमार्फत उत्पादन थाल्नका लागि अझै डेढदेखि दुई महिनासम्म लाग्ने जानकारी दिए । उनले सोया मस्यौरा भने उद्योग मार्फत उत्पादन भइरहेको दाबी गरे । तर, उद्योगका पनि व्यवस्थापक ऐरले भने अहिले सोया मस्यौराको उत्पादन नभएको जानकारी दिए । अध्यक्ष जोशीले उद्योगमा चार सय बढीले रोजगारी पाउने दाबी पनि गरेका थिए । तर अहिले उद्योगमा चार जना मात्रै कार्यरत छन् । 

उद्योगमा ७ करोडको लागत भइसकेको फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले जनाएको छ । उद्योगमा सात सय ७७ जना शेयर सदस्य छन् । उद्योग डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा ३० रोपनी जमिनमा स्थापना गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update