Paschim Express
कैलालीले जित्यो प्रधानमन्त्री कप सुदूरपश्चिम छनोटको उपाधि

डडेल्धुरा ।  प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको उपाधि कैलालीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा  बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि जितेको हो । 

जितका लागि पाएको २८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा समेटियो । जसमा खडक बोहरा र नरेन भट्टले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । खडक ७४ र नरेन ५९ रनमा आउट भए । 

कैलालीका  कप्तान नारायण जोशीले ३, शेर मल्ल र धर्म जोशीले २/२ विकेट हात पारे । यसअघि कैलालीको फाप्ला मैदानमा  बिहान ९ बजेदेखि सुरू हुने  भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ४० ओभरमा झारिएको थियोे । टस जितेर ब्याटिङ गरेको कैलालीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २७९ रन बनायो ।

उसका कप्तान नारायण जोशीले शतकीय पारी खेल्दै १०१ रन बनाए । यस्तै शेर मल्लले ५० रनको पारी खेले । बैतडीका खडक बोहराले ३ र कप्तान वसन्त खत्रीले २ विकेट झारे ।

विजेता, उपविजेता टोलीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउँद, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीलगायतले पुरूस्कार वितरण गरे ।

छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरी सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update