Paschim Express
डडेल्धुरा सडक विस्तार : किर्तिपुरदेखि उग्रतारासम्म घर र जग्गाको मुआब्जा दाबी गर्न आग्रह

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन तेस्रो चरणमा मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो चरणमा मुआब्जा वितरण गर्नका लागि सरकारले २३ करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराएपछि मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाइएको हो ।

घर तथा जग्गा धनीलाई मुआब्जा दाबी गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गरेको छ । मुआब्जा दाबी गर्नका लागि ३५ दिने सूचना जारी भएको हो ।

महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा जिल्ला सदरमुकामको किर्तिपुरदेखि उग्रतारा मन्दिर गेटसम्मको सडक खण्डमा रहेका घर तथा जग्गा धनीलाई मुआब्जा दाबी गर्न बुधबार प्रकाशित सूचनामा आग्रह गरिएको छ । किर्तिपुदेखि उग्रतारा मन्दिर जाने गेटसम्मको सडक खण्डमा रहेका एक सय ५३ जना घर तथा जग्गाधनीलाई मुआब्जा दाबी गर्नका लागि सूचनामा आग्रह गरिएको छ ।

मुआब्जाका लागि २३ करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई प्राप्त भएपछि वितरणको प्रक्रिया अगाडि बढाइएको कार्यालयका प्रमुख रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार यसअघि मुआब्जाका लागि प्राप्त भएको ५० करोडमध्ये झण्डै ४२ करोड रकम घर तथा जग्गाधनीलाई वितरण गरिएको छ । 

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका एक सय ६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको थियो । 

जिल्ला सदरमुकामको सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पनि जारी छ । जिल्ला सदरमुकाम बागबजारदेखि उग्रतारासम्म ३० मिटर चौडा सडक निर्माण गर्ने योजना छ । सडकको क्षेत्राधिकार खाली भएपछि सडक निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढ्ने सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update