Paschim Express
डडेल्धुराका बजारमा अखाद्य र म्याद सकिएका वस्तु छ्यापछ्याप्ती

डडेल्धुरा । दसैं नजिकिँदै गर्दा जिल्लाका ग्रामीण बजारहरूमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती बिक्री हुन थालेका छन् । चाडपर्वको समयमा बढी सामग्री खपत हुने भएकाले व्यापारीलाई अरु बेला नबिकेको सामान पनि बिक्री गरिरहेका हुन् ।

शनिबार बजार अनुगमन गर्दा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ देबलरमा ४ वर्ष अगाडि नै म्याद सकिएका सामान पनि भेटिएका थिए । गाउँपालिकाका उपाध्यक्ष बसन्ती पालको नेतृत्वमा भएको अनुगमनमा यस्ता सामान भेटिएका हुन् । ‘कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो,’ उपाध्यक्ष पालले भनिन्, ‘देबल, राजुल, गाल, चिपुर लगायतका बजारमा अनुगमन गरेका छौं ।’ 

सोही क्रममा अवैध म्याद सकिएका र लेबल नभएका ६० हजार बढीका सामान फेला पारेर नष्ट गरिएको उपाध्यक्ष पालले बताइन् । ‘अघिल्लो वर्ष बजारको अवस्था झनै नाजुक थियो,’ उनले भनिन्, ‘हामीले म्याद सकिएका र लेबल नभएका सामान बिक्री नगर्न आग्रह गरेका थियौं । यो वर्ष केही सुधार भएको छ ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्र ओझाले अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मूल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको बताए । ‘अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका अखाद्य वस्तु बरामद गरी नष्ट पनि पारेका छौं,’ प्रशासकीय अधिकृत ओझाले भने, ‘व्यापारीलाई म्याद गुज्रेका सामाग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।’

अजयमेरु गाउँपालिकाको आयोजनामा भएको अनुगमनमा उपाध्यक्ष पालसहित जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकिय अधिकृत जितेन्द्र ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य अनुसन्धान अधिकृत गणेशप्रसाद रोक्का, घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्योग विकास सहजकर्ता किशोर कैनी, पत्रकार र प्रहरी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update