Paschim Express
परशुरामधाममा लागेको माघी मकर स्नान मेला सम्पन्न

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मकर स्नान मेला भव्य रूपमा सम्पन्न भएको छ । चार धाममध्येको एक धाम परशुराममा आइतबार बेलुकीदेखि सुरु भएको मेला सोमबार सम्पन्न भएको हो ।

परशुरामधाममा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ । मेलाका अवसरमा धाम परिसरमा परशुराम नगरपालिका, विश्व हिन्दु युवा संघ डडेल्धुरालगायतका विभिन्न सामाजिक संस्थाहरूको आयोजनामा आध्यात्मिक प्रबचन तथा भजनकृतनका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

received_393738479709615-1705326359.jpeg

परशुरामधाममा गंगा आरती पनि प्रस्तुत गरिएको थियो । परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ । भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ ।

received_2400995756768581-1705326385.jpeg

पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन् । त्यसो गर्नाले धर्म कमाइने विश्वास छ । सोमबार बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको भीड थियो । माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ ।

नेपाल–भारतको सीमा भई बग्ने महाकाली नदी किनारमा रहेको परशुराम धाममा गरिने मकर स्नानलाई धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । यसवर्षको मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले बताए ।
 
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update