Paschim Express
पञ्चेश्वर आयोजनामा ६८ वर्षपछि ‘ब्रेक थ्रु’

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको पहिचान भएको ६८ वर्षपछि ‘ब्रेक थ्रु’ भएको छ । गत साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच पञ्चेश्वर परियोजनामा सहमति भएको हो ।

हस्ताक्षर हुन बाँकी सम्झौतामा अहिले प्राविधिकहरुले अन्तिम रुप दिने तयारी गरेका छन् । त्यसलगत्तै एक महिनाभित्र विवादहरु सम्बोधन गरेर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कार्यान्वयनको चरणमा लैजाने सहमति भएको छ ।

अहिले प्राविधिक र भाषागत विषय लेख्ने काम भइरहेको छ। हस्ताक्षारपछि मात्रै सार्वजनिक गरेर कार्यान्वयनमा लैजान नेपाल र भारत दुवैपक्ष सहमत भएका छन् ।

रणनीतिक महत्वको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भारत र नेपाल सहमति भएको हो । ६८ वर्षदेखिको आयोजनामा पटक–पटकको वार्तापछि अहिले आएर बल्ल नेपाल र भारतबीच सहमति भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको केही समयपछि हुने भारत भ्रमणमा सम्झौतामा हस्ताक्षर हुने छ। यता परराष्ट्रमन्त्री साउदले पञ्चेश्वर परियोजनामा लामो समयपछि ’ब्रेक थ्रु’ भएको बताएका छन् । मन्त्री साउदले प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताए ।

महाकाली सन्धिमा भएको विषयलाई प्रष्ट पार्ने र लाभलाई लगानीका हिसाबले बाँड्ने विषयलाई टुंगो लगाउनुपर्ने विषयमा सोही सन्धि अनुसार नै गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update