Paschim Express
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन : पहिलो बैठकमा कसले के भने ? 

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । अघिल्लो अधिवेशन अन्त्य भएको तीन महिनापछि प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको हो ।

यस अधिवेशनलाई कानून निर्माण गर्ने अधिवेशनका रूपमा पनि लिने गरिन्छ । अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखले पठाएको पत्र पढेर सदनलाई सुनाएका थिए । 

सदनमा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकले विशेष समय लिएर अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले पर्याप्त ‘बिजनेस’ दिएर सदनलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले अहिलेको संसदीय व्यवस्थाप्रति जनताको आक्रोस देखिएकाले प्रदेशको उन्नति र विकासका लागि संसद्ले सोच्नुपर्ने बताए ।

उनले हिउँदे र बर्खे अधिवेशन चलाएर मात्रै नपुग्ने उल्लेख गर्दै अब संसद्को विशेष अधिवेशन बोलाएर त्यसमा नागरिकका यस्तै असन्तुष्टिका कुरामाथि छलफल गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्टले यो अधिवेशनले सिङ्गो सदनलाई विश्वासमा लिएर आवश्यक विधेयक निर्माणमा गति लिनुपर्नेमा जोड दिए । 

उनले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा कार्यान्वयन हुन नसकेको र अहिलेसम्म विकल्प खोज्न पनि नसकिएको चर्चा गर्दै यो अधिवेशनले राजधानीको टुङ्गो लगाउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले संसद्को गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले सदनलाई ‘बिजनेस’ दिन नसकिरहेको भन्दै पर्याप्त ‘बिजनेस’ दिनका लागि सरकारको ध्यानाकर्षण गराए । 

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारले बौद्धिक अपाङ्गता भएकाको स्याहारका लागि विशेष स्याहार केन्द्र सञ्चालन गर्न जरुरी रहेको बताए । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सरकारलाई बजेट खर्च प्रगति बढाउन र सदनलाई पर्याप्त बिजनेस दिन आग्रह गरे ।

राप्रपाको संसदीय दलका नेता खेमादेवी विष्टले सदनमा उठेको कुरामाथि सरकारबाट जवाफ नआएको भन्दै ध्यानाकर्षण गराइन् । स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले सङ्घीय सरकारले नै लगानी सम्मेलन आयोजना गर्न गइरहेको बेला प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको खासै औचित्य नदेखिएको बताए । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update