Paschim Express
पश्चिम सेतीको काम अगाडि बढ्यो

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढेको छ। भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले एनएचपीसीलाई गत वर्ष कात्तिकमा अध्ययन अनुमतिपत्र दिएको थियो। 
जसमा आयोजनाको प्रसारण लाइनको आईईए, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनका लागि उपयुक्त कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको हो । विश्वका जुनसुकै कम्पनीले आवेदन दिन सक्नेगरी ३५ दिनको समय दिइएको छ । त्यस्तै आयोजनाको बाँध क्षेत्र, नदीले पार्ने प्रभावित क्षेत्रको समेत अध्ययनका लागि एनएचपीसीले टेन्डर आह्वान गरेको छ । 

गतवर्ष २०७९ भदौ २ मा बोर्ड र एनएचपीसीबीच ४५ दिनभित्र अनुमतिपत्रका लागि निवेदन दिने गरी सम्झौता भएको थियो । एनएचपीसीले गत २०७९ असोज ११ गते अनुमतिपत्रका लागि आवेदन दिएको थियो । दुई वर्षभित्र अध्ययन प्रतिवेदन बुझाउने र निर्माण प्रक्रियामा जाने सम्झौता छ । जसका लागि लगानीको सुनिश्चितासमेत कम्पनीले पेश गर्नुपर्ने छ ।  

सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्नेगरी पश्चिम सेती परियोजना अगाडि बढाएको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष प्राथमिकता दिएको सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना ‘पश्चिम सेती परियोजना’ निर्माण अगाडि बढाउन तदारुकता देखाएसँगै लगानी बोर्ड र राष्ट्रिय योजना आयोगले चासो दिएका थिए । आयोजना बनाउन यसअघि १ खर्ब ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update