Paschim Express
‘डडेल्धुराको तरकारीमा विषादी भेटिएन, ढुक्कसंग उपभोग गर्दा हुन्छ’

डडेल्धुरा । डडेल्धुरामा उत्पादन भएको र बाहिरबाट आएको तरकारीमा विषादी प्रयोग नभएको दाबी गरिएको छ । प्रयोगशालामा भएको परीक्षणमा जिल्लामा उत्पादन भएको र अन्यत्रबाट आएको तरकारीमा विषादी नपाइएको हो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार डडेल्धुराबाट तरकारी र फलफूलको नमुना संकलन गरेर केन्द्रीय कृषि प्रयोगशाला मातहत रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई कैलालीमा पठाइएको थियो । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान केन्द्रका निमित्त प्रमुख खेमराज पनेरुले प्रयोगशालाले तरकारीको नमुना परीक्षण गरेर रिपोर्ट पठाएको बताउँदै कुनै पनि तरकारी र फलफूलमा विषादी नभेटिएको जानकारी दिए ।

‘तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा मात्रै उपभोग गर्न नमिल्ने हुन्छ,’ पनेरुले भने, ‘तर डडेल्धुरामा उत्पादन भएको र अन्यत्रबाट आएको कुनै पनि तरकारीमा त्यति विषादी भेटिएको छैन । सामान्य विषादी प्रयोग भए पनि त्यसलाई विषादी नभेटिएको भन्न मिल्छ । प्रयोगशालाले नै हामीलाई सबै तरकारी उपभोग योग्य भएको भन्दै रिपोर्ट पठाएको छ ।’ 

उनका अनुसार डडेल्धुरा बजार क्षेत्र र अमरगढी नगरपालिका वडा नम्बर ११ फिन्नेकोट क्षेत्रबाट तरकारीको नमुना संकलन गरिएको थियो । तरकारीमा विषादीको प्रयोग भएकै कारण फिन्नेकोट क्षेत्रमा क्यान्सरका बिरामी बढेको चर्चा भएपछि नमुना संकलन गरिएको निमित्त कार्यालय प्रमुख पनेरुले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख पनेरुले डडेल्धुरामा उत्पादन भएको र अन्यत्रबाट आएको तरकारीमा विषादी नभेटिएकोले ढुक्कसंग प्रयोग गर्न आग्रह गरे । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update