Paschim Express
बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा

बैतडी । पानीका मुहान सुकेपछि बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । असी लाख रुपियाँ खर्च गरेर निर्माण भइरहेको खानेपानीको मुहान सुकेपछि शिवनाथ गाउँपालिका काकाकुल बनेको छ ।

स्थानीय सिमार लिफ्ट खानेपानी योजना निर्माण पूरा नहुँदै मुहानको पानी सुकेपछि आइतबार १२औँ गाउँ सभाबाट शिवनाथ गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको हो । पानी नहुँदा शिवनाथ गाउँपालिकाको सार्वजनिक शौचालय बन्द भएको छ । गाउँपालिका केन्द्रमा रहेको सुल्ले खान बजारका शौचालयमा ताला लगाइएको छ भने खाने पानीका धारा धुलो माटोले पुरिएका छन् ।

सडक निर्माण र लामो खडेरीका कारण शिवनाथमा पानीका मुहानमा सुक्दै गएको सरोकारवालाको भनाइ छ । पानीका मुहान रिचार्ज गर्ने प्रयास गरिए पनि खडेरीका कारण सफल हुन नसकेपछि गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।

गाउँपालिका अध्यक्षले पालिकामा भएका मुहान सुकेकाले अब महाकालीको पानी तान्न विस्तृत अध्ययन प्रतिवेदन भइरहेको जानकारी दिए । “पानी तान्न करोडौं रुपियाँ खर्च लाग्ने देखिएको छ,” अध्यक्ष साउदले भने,“ अध्ययन प्रतिवेदन तयार गरी फागुन भित्रै प्रदेश र सङ्घीय सरकारलाई बुझाउने तयारी गरिरहेका छौँ ।”  

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update