Paschim Express
शैक्षिक गुणस्तर सुधारमा जुट्यो डडेल्धुराको नवदुर्गा गाउँपालिका

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका शैक्षिक गुणस्तर सुधारमा जुटेको छ । सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेर शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका सक्रिय भएको हो । 

सोमबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मंगलबारदेखि थप कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए ।

उनका अनुसार अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई नगद प्रोत्साहन दिने अध्यक्ष अवस्थीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update