Paschim Express
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धन र एमाले भिड्दै

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भोलि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो । 

निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट, बलदेव बोहरा र नेकपा माओवादी केन्द्रका रेणु चन्द उम्मेदवार छन् । 
नेपाली कांग्रेसका भट्ट अपाङ्ग, बोहरा अन्यबाट र माओवादीकी चन्द महिलाबाट उम्मेदवार बन्नु भएको हो । यसैगरी, नेकपा ९एमाले० बाट अपाङ्गतर्फबाट कैलालीका रामचन्द्र जोशी, महिलामा कैलालीकै सावित्री घिमिरे र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिनु भएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था रहेको छ । मतदान सुदूरपश्चिम प्रदेश सभामा हुनेछ । मतदान स्थलमा तयारी पूरा गरिएको छ । 

भोलि बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रदेश सभा सदस्य र १७६ जना स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी जम्मा २२८ जना मतदाता रहेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update