Paschim Express
सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : महर

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन् । धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए । 

उनले भने, ‘‘सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपियाँ बराबरको बचत अपचलन भएको देखाएको छ । १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी सङ्घ संस्थाहरूमध्ये करिब पाँच सय सहकारी समस्यामा रहेका छन् ।’’

पूर्व गृहमन्त्री हुन् वा ठुला व्यापारी जनताको रकम अपचलन गर्ने छुट कसैलाई नभएको महरको भनाइ छ । सहकारी क्षेत्रको नियमनका लागि नेपाल राष्ट्र बैङ्क पनि सक्रिय हुनुपर्ने महरले बताए । सहकारीसम्बन्धी ऐनमा भएका राम्रा व्यवस्थाको उचित कार्यान्वयन गर्दै दोषीलाई कानुनी कारबाही गर्न महको माग छ ।

सहकारी ऐनमा भएको बचत तथा ऋण सुरक्षण कोष स्थापना, स्थिरीकरण कोष स्थापना, कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्नेजस्ता व्यवस्थालाई सरकारी जानाजान कार्यान्वयन नगरेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update