Paschim Express
आज राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कसको मतभार कति ?

डडेल्धुरा । राष्ट्रियसभा निर्वाचन आज हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिममा तीन पदका लागि निर्वाचनको भइरहेको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार मतदानका लागि प्रदेशसभा परिसरमा एक वटा मतदानस्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ । यस प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका प्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् । 

स्थानीय तहका प्रति प्रमुख तथा उपप्रमुख बराबर १९ र प्रति प्रदेश सभा सदस्य बराबर ५३ मतभार हुँदा यहाँ कूल मतभार ६१०० रहेको छ । जसको लागि निर्वाचन सामग्री तयारी अवस्थामा रहेको र व्यवस्थापनको लागि निर्वाचन कार्यालयबाट १८ जना कर्मचारी खटिएका छन् । यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भइरहेको हो ।

यहाँ सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट उम्मेदवार छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार बनेकी छिन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरकी ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार  छन् । 

अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ । त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ । 
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ जना प्रदेशसभा सदस्य रहेका छन् । बझाङको प्रदेशसभा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि अहिले कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र स्वतन्त्रका १÷१ जना छन् ।

स्थानीय तहमा पनि सबैभन्दा बढी कांग्रेसका जनप्रतिनिधि निर्वाचित छन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये प्रमुख वा अध्यक्षमा ४० जनाले जितेका छन् भने उपप्रमुख वा उपाध्यक्षमा ४८ जनाले जितेका छन् । कांग्रेसको एक्लै स्थानीय तहको मतभार १ हजार ६६ हुन्छ भने प्रदेश सभाको मतभार ९५४ हुन्छ । यसरी सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार २ हजार ५८८ रहेको छ ।

एमालेले स्थानीय तहमा २४ प्रमुख र २६ उपप्रमुख जितेको छ । एमालेले स्थानीय तहको मतभार ९५० र प्रदेश सभाको मतभार ५८३ रहेको छ । यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार १ हजार ५ सय ३३ रहेको छ ।

माओवादीले स्थानीय तहमा १४ प्रमुख र ११ उपप्रमुख जितेको छ । माओवादीको स्थानीय तह र प्रदेशसभाको कुल मतभार १ हजार ५ रहेको छ । नागरिक उन्मुक्तिले स्थानीय तहमा ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको प्रदेश र स्थानीय तहको मतभार ५०४ रहेको छ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको दुवै मतभार ३०७ रहेको । 

२ पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एक जनाले स्वतन्त्र जितेका छन् । उनीहरूको मतभार ९१ छ । यहाँ राप्रपाका एकजना प्रदेश सभा सदस्य छन् । जसको मतभार ५३ मात्रै छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update