Paschim Express
सुदूरपश्चिममा ३ जना राष्ट्रियसभा सदस्य चयन गर्न मतदान जारी

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान सुरु भएको हो ।

सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले बिहिवार बिहान पहिलो मत खसालेका छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । 

स्थानीय तहका प्रति प्रमुख तथा उपप्रमुख बराबर १९ र प्रति प्रदेश सभा सदस्य बराबर ५३ मतभार हुँदा यहाँ कूल मतभार ६१०० रहेको छ । यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भइरहेको हो ।

यहाँ सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट उम्मेदवार छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार बनेकी छिन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरकी ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार  छन् । 

अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ । त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update