Paschim Express
डडेल्धुरामा १५ प्रतिशत नागरिकले गरे स्वास्थ्य बिमा, साढे २० हजार नाघ्यो बिमितको संख्या

डडेल्धुरा । डडेल्धुरा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झण्डै १५ प्रतिशत जनसख्या मात्रै आवद्ध भएको छ । २०७६ साल फागुनदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा चार वर्षसम्म पनि न्यून जनसङख्या मात्रै कार्यक्रममा आवद्ध भएको हो । ०७८ सालको जनगणनाअनुसार जिल्लाको जनसंख्या एक लाख ३९ हजार ६०२ रहेको छ । 

स्वास्थ्य बिमा बोर्ड सम्र्पक कार्यालय डडेल्धुराका अनुसार अहिलेसम्म जिल्लामा ८ हजार ७६५ परिवारका २० हजार ६१६ नागरिकले मात्रै स्वास्थ्य बिमा गरेका छन् । जुन कुल जनसंख्याको १४ दशमलव ७७ प्रतिशत हुन्छ । कार्यालयका दर्ता अधिकारी इश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार ७०३ छ ।

‘जिल्लामा रहेका दुई हजार ३२ महिला स्वास्थ्यस्वयंसेविका परिवारका सदस्य तथा ५ हजार २६५ ज्येष्ठ नागरिकको पनि निशुल्क रुपमा स्वास्थ्य बिमा गरिएको छ,’ दर्ता अधिकारी जोशीले थपे, ‘एचआईभी संक्रमितका एक सय ४८ जना परिवारका सदस्य, ल्याप्रोसी परिवारका १५ जना सदस्य, रातो कार्ड भएका अपाङगता भएका व्यक्तिका तीन सय ८५ परिवारका सदस्य र १९ जना एमडियार टिभी संक्रमितका ५८ जना परिवारका सदस्यको पनि निशुल्क रुपमा सरकारले नै बिमा गरिदिएको छ ।’

७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, एचआईभी संक्रमित, क वर्गको अपाङ्गता भएका व्यक्ति, एमडीआर टिभी र कुष्ठरोगीको बिमा बोर्डले निःशुल्क बिमा गर्दै आएको जोशीले बताए । यस्तै ५० प्रतिशत अनुदान संघीय र ५० प्रतिशत अनुदान प्रदेश सरकारले दिएपछि महिला स्वास्थ्य स्वयंसेविकाको पनि निशुल्क बिमा हुँदै आएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि डडेल्धुरामा रहेका ५२ वडामा एक÷एक जना दर्ता सहयोगी छनोट गरी वडा–वडामा खटाइएको छ ।

स्वास्थ्य बिमाको लागि ५ जना सदस्य रहेको परिवारले ३ हजार ५ सयमा स्वास्थ्य बिमा गर्न पाउने व्यवस्था छ । बिमाबापत एक लाख बराबरको वार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ । यस्तै ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थपेर बिमा गर्न पाइन्छ भने उपचार खर्च पनि एक लाखभन्दा प्रति सदस्य २० हजारका दरले बढ्ने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update