Paschim Express
सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराज हटाइए, धामीलाई जिम्मेवारी

कैलाली । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ । आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो ।

बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको बुझिएको छ । यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि बताइएको छ ।

नेता फेर्ने बैठकमा तत्कालीन दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए ।

धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्। 

सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update