Paschim Express
सुदूरपश्चिममा दलको नेता फेरेको माओवादी केन्द्रले मन्त्री के गर्ला ?

डडेल्धुरा । सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता परिवर्तन गरेकोमा अब मन्त्री पनि परिवर्तन गर्न लागिएको चर्चा चलेको छ । शुक्रवार बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता परिवर्तन गरेको थियो ।

 

बहुमत प्रदेशसभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको हो । यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको छ । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

दलको नेता फेरेसंगै माओवादी केन्द्रले सुदूरपश्चिममा मन्त्री पनि फिर्ता बोलाउने चर्चा छ । सुदूरपश्चिम प्रदेशमा माओवादीको तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री गितादेबी माल माओवादी केन्द्रको तर्फबाट अहिलेको मन्त्रीपरिषद्मा रहेका छन् । तीन जनालाई फिर्ता बोलाउने गरी माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको बताइएको छ । 

अहिले सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन आन्तरिक रुपमा गहन छलफल चलिरहेको माओवादी केन्द्रका एक नेताले बताए । बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले भने तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन् । 

यसअघि सरकारको काम कारबाही पारदर्शी नभएको, जबाफदेहिता नभएको, कांग्रेसले सिङ्गो पार्टी सिस्टम जस्तो गरी सरकार चलाएको, माओवादीका मन्त्रीहरू निरीह भएको लगायत आरोप लगाउँदै सरकारबाट मन्त्री फिर्ता र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने माग दाबीसहित प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकलम दाहाललाई धामी लगायतका नेताहरुले पत्र नै बुझाएका थिए । 
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update