Paschim Express
डोटीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मन्त्री देउवाले गरे उद्धाटन

डडेल्धुरा । डोटीमा १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार दीपायलस्थित दिल्पेश्वर मठमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्धाटन गरेका हुन् । प्रतियोगिताको उद्धाटन गर्दै मन्त्री देउवाले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनावद्ध रुपमा लागेको बताए ।

उनले खेल क्षेत्रको विकासका लागि सबैभन्दा पहिले खेल पूर्वाधारको आवश्यता रहेको बताउँदै त्यसमा प्रदेश सरकार योजना बनाएरै अघि बढेको बताए । प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रलाई विशेष महत्वका साथ उठाउने मन्त्री देउवाले प्रतिबद्धता जनाए । 

यस्तै प्रदेशसभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेश सरकार ‘खेलकुद विद्यालयदेखि ओलम्पिक सम्म’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको बताए । 

अर्का प्रदेशसभा सदस्य चक्र मल्लले एउटा असल खेलाडीले राष्ट्रलाई प्रतिनिधित्व गर्ने भएकाले अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गरे ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद समिति डोटीको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागिता रहेको समितिका अध्यक्ष प्रकाश शाहीले बताए । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update