Paschim Express
सुदूरपश्चिममा विशेष सुरक्षा योजना

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजनाको तयारी गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्व शान्तिपूर्ण वातावरणमा मनाउन विशेष सुरक्षा योजनाको तयारी गरिएको हो । दसैँतिहार मनाउनका लागि विभिन्न कारणले बाहिरिएकाहरु घर फर्किने भएकाले सर्वसाधारण नागरिकको सुरक्षा, यातायात सेवामा सहजीकरण, दसैँ तथा मेलामा हुने अराजक गतिविधि रोक्न सुरक्षा योजना बनिरहेको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । 

त्यसका लागि नौं जिल्लामा करिब चार हजार प्रहरी परिचालन गरिने उनले बताएका छन् । ‘चाडबाडका बेला भारतलगायत विदेशबाट आउने लुटिने, सीमानाकामा समस्या हुने, यातायातको समस्या हुने, अनावश्यक दुःख र हैरानी पाउने जस्ता समस्यालाई ध्यानमा राखेर शान्ति सुरक्षाको व्यवस्था गरिएको छ,’ उनले भने । 

सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, अनावश्यक सामान लैजाने, मदिरा सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने र जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको चेतावनीसमेत उनको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख बोहराले लागूऔषध ओसारपसार, कारोबार, विभिन्न सामानको तस्करी र महिला हिंसा नियन्त्रण यो क्षेत्रका मुख्य चुनौती रहेको चर्चा गर्दै उक्त क्षेत्रमा उल्लेखनीय सुधार गरेर छोड्ने प्रतिबद्धता जनाए ।

चाडबाडका बेला तराईबाट पहाडी जिल्लामा जाने यातायातका सवारीसाधन दुर्घटना हुने जोखिम चुनौतीपूर्ण भएकाले त्यसको नियन्त्रणका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई  क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र मदिरा सेवन गरी सवारी चलाउनेविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update