Paschim Express
सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव, चिसो बढ्यो

सुदूरपश्चिम । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएको छ । आइतबार बिहानदेखि विभिन्न स्थानमा वर्षा भएको हो । खप्तड लगायतका केही उच्च क्षेत्रमा हिमपात पनि भएको छ । 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा रहेको छ । वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको  छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै डडेल्धुरासहित सुदूर पहाडमा हल्का वर्षा भएपछि तापक्रम निरन्तर घट्दा चिसो बढिरहेको छ । डडेल्धुराको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री पुगेको छ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update