Paschim Express
पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको बढाइएको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । चाडवाडको मुखमा निगमले गरेको मुल्यवृद्धिले जनतालाई मार पर्ने भन्दै प्रधानमन्त्री दाहालले आइतबार बिहान निगमलाई तत्काल बढाइएको मूल्य लागू नगर्न निर्देशन दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निगमले गरेको मूल्यवृद्धि तत्काल लागू नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिइन् । ‘मूल्यवृद्धि निगमले गरेको हो । यो मूल्य समायोजन प्रणालीमा आधारित भएर गरिएको हो,’ उनले भनिन्, ‘तर चाडवाडको मुखमा त्यो मूल्यवृद्धिले सर्वसाधारणलाई मार पर्ने भएकाले प्रधानमन्त्रीज्यूले तत्काल त्यो मूल्यवृद्धि लागू नगर्न निगमलाई निर्देशन दिइसक्नुभएको छ ।’

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा निगमले नै जानकारी दिने समेत बताइन् ।

सरकारले चाडवाड लक्षित बजार अनुगमन र महँगी नियन्त्रणको प्रयास गरिरहेको भन्दै मन्त्री शर्माले गैरकानुनीरुपमा गरिएको मूल्यवृद्धि र कालोबजारीलाई कारबाहीको दायरामा ल्याइने बताइन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update