Paschim Express
कलिलैमा अस्ताइन् डडेल्धुराकी पुनम, चिसोमा साथी बनेकी सासुलाई पनि छाडेन आगोले

काठमाडाैं । गोपाल दियालले बिहे गरेको एक वर्ष मात्रै भएको छ । लगनगाँठो कसेपछि श्रीमती पुनमसँग छुट्टिएर उनी रोजगारीका लागि विदेश गए । तर, बिहे गरेर कतार गएका उनी आज घर फर्किदैछन् । किनकी उनको घरमा ठुलो बज्रपात परेको छ । उनले आमा र श्रीमतीलाई सँगै गुमाएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा उक्त दुःखद घटना भएको हो ।

महिनावारी भएकी २६ वर्षीय पुनम हिजो राति घरको तल्लो कोठामा सुतेकी थिइन् । उनलाई एक्लै बसाउनु हुन्न भन्ने सोचेर ६० वर्षीया सासु धौलीदेवी दियाल उनको कुरुवा बसिन् । डडेल्धुराको चिसोलाई छल्न उनीहरुले कोठामा आगो बालेका थिए । तर, उनीहरुले थोरै झ्याल खोलेर कोठामा अक्सिजन आउने वातावरण बनाउन बिर्सेछन् ।

राति राम्ररी सुतेका दुवै बिहान ७ बजेसम्म नउठेपछि धौलीदेवीका नातीले ढोका ढकढकाए । धेरैबेरसम्मको प्रयासमा पनि भित्रबाट ढोका नखुलेपछि घरका अन्य सदस्यले ढोका फुटाएका थिए । भित्र सासुबुहारी बेहोस अवस्थामा लडिरहेका पाएपछि दुवैलाई डडेल्धुरा अस्पताल लगिएको थियो । तर, अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरे ।

चिकित्सकलाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले दुवैको निसासिएर मृत्यु भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उता आमा र श्रीमतीको मृत्युको खबर पाएसँगै गोपाल घर फर्किन लागेका छन् । उनी पुगेपछि मात्रै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बन्दकोठामा आगो बालेर सुत्नु कति खतरनाक ?
चिसो बढेसँगै कोठालाई न्यानो बनाउन हामी झ्याल ढोका सबै बन्द गरेर सुत्ने गर्छौ । त्यस माथि कोठा न्यायो पार्न हिटर, कोइला जस्ता सामान बालेर सुत्ने गर्दछौं । तर यो तरिका एकदमै गलत र खतनाक हुने चिकित्सकहरू बताउँछन् । यस्ता गतिविधिले कोठामा अक्सिजनको कमी भइ मानिसको निसासिएर मृत्यु हुनसक्ने उनीहरूको भनाइ छ ।

चिकित्सकहरूका अनुसार जुन कोठामा भेन्टिलेसन छैन त्यस्तो कोठा पूर्ण रुपमा बन्द गरेर न्यायो पार्ने सामाग्री बालेर सुत्नु एकदमै खतरनाक काम हो । यसले अक्सिजनको मात्रा पर्याप्त नपुगी मानिसको ज्यान जान सक्छ । कोठा न्यायो पार्नका लागि बालिने कोइला वा दाउराबाट प्रशस्त मात्रा कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ र त्यो बाहिर जान नपाएपछि मानिसको निसासिएर मृत्यु हुने गर्छ । यति मात्र नभएर कुनै कारवा गाडीमा झ्यालबन्द गरेर इन्जिन चलाएर भित्र बस्दा पनि मानिसको निसास्सिएर मृत्यु हुने गर्छ ।

भारतीय छाला विशेषज्ञ अमित लुथराका अनुुसार धेरैबेरसम्म ब्लोअर, हिटर अथवा दाउराको आगो अगाडी बसिरहँदा छाला सुख्खा हुने समस्या देखिन्छ । यसैगरी चायाँको समस्यापनि देखिनसक्छ ।

यदि बन्दकोठा भित्रदाउराको आगो बाल्यौ, कोइला बाल्यौं भने श्वासप्रश्वासका क्रममा हामीले अक्सिजनका साथै कार्बन मोनोअक्साइड ग्यास पनि फोक्सोमा भर्छाैं । त्यसपछि कार्बन मोनोअक्साइड रगतको हेमोग्लोबिनमा मिश्रण भई कार्बोक्सिहीमोग्लोबिनमा परिणत हुने गर्छ । त्यसपछि रगतमा अक्सिजन भन्दा कार्बन मोनोअक्साइड बढी हुन्छ ।

शरीरमा हाईपोक्सियाको स्थिती बढेर मानिसको मृत्यु समेत हुनसक्छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update