Paschim Express
डडेल्धुराको कटालमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता सुरू

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक पुरुस्कार राशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको सुरु भएको छ । भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको सोमबार एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख  अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले उद्घाटन गरे । 

कार्यक्रममा विशिष्ट अथितिको रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की रहेका थिए । उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, सुधीर जैरू, डेउडा गायक तथा हास्य कलाकार जेआर भट्ट, मोडेल डान्सर अनुष्का भण्डारी, पुष्पा बोहराले पनि प्रस्तुति राखेका थिए । 

भलिबल प्रतियोगितामा पुरुषका ८ र महिलाको ७ टिम सहभागी रहेको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल 'डायमण्ड'ले जानकारी दिए । उनका अनुसार भलिबलका खेलहरू भोलि मंगलबारदेखि सुरु हुनेछन् ।

पुरुष खुला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ ।

खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता भएको दाबी गरिएको छ ।

विभिन्न विधामा उत्कृष्टलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटनमा विद्यालयले  विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन पनि गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update