Paschim Express
डडेल्धुरामा भोलिदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड, मन्त्री देउवाले उद्घाटन गर्ने

डडेल्धुरा । डडेल्धुरामा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यसवर्षको जिल्लास्तरीय रनिङ शिल्ड अमरगढी नगरपालिका–४ टुँडिखेलमा गर्ने निर्णय भएकाे थियो ।

भोलि बिहान सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् ।  ७ वटा स्थानीय तहका करिब ८ सय बढी खेलाडी र प्रशिक्षक सहभागी हुने प्रतियोगिताको लागि खेलकुद प्राङ्गणमा आवश्यक तयारी भइरहेको जनाइएको छ । खेलमैदान सजावटदेखि  मञ्च निर्माणको काम अन्तिम चरणमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए ।

प्रतियोगिताको लागि आवश्यक स्वयमसेवक परिचालन,आवश्यक पूर्वाधार लगायतका सबै विषयमा जिम्मेवार ढंगले लागिपरेको  खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिता भोलि माघ २६ र २७ गतेसम्म आयोजना सञ्चालन गरिने उनले बताए ।  

रनिङ शिल्डको खेल तालिका/टाइसिट आज दिउँसो ४ बजे प्रकाशित गरिने आयोजक जिल्ला खेलकुद समितिले जनाएको छ । जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू खेलाइने अध्यक्ष थापाले बताए ।

उनका अनुसार जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन् ।

१३औँ जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताका अजयमेरु गाउँपालिका–३ मा रहेको चम्बेताल खेल मैदानमा खेलाइएको थियो । गतवर्ष परशुराम नगरपालिकाले जिल्लास्तरीय रनिङ शिल्डको उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update