Paschim Express
डडेल्धुरामा खेल मैदान निर्माण गर्न आगामी वर्ष बजेट विनियोजन गर्छु : मन्त्री देउवा 

डडेल्धुरा ।  सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले  आगामी आर्थिक वर्षमा डडेल्धुरामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्ने बताएका छन् । शुक्रबार  डडेल्धुरामा आयोजित १४ओैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रको गौरव बढाउने काम गरेको स्मरण गर्दै डडेल्धुराले पनि खेलक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको  बताए ।

खेल क्षेत्रको विकास गर्न सुविधा सम्मन्न खेलमैदान आवश्यक हुने भएकोले आगामी आर्थिक वर्ष  डडेल्धुरामा खेल मैदान निर्माण गर्ने मन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरे । उनले खेल जगतका विभिन्न आयामलाई उर्वर बनाउन विद्यालय क्षेत्रबाटै सुरु भएको रनिङशिल्ड प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको बताए ।

423036415_392429986773283_608707755396324247_n-1707464581.jpg

प्रदेश सरकारले पनि खेलकुदमा बजेट विनियोजन गरि वर्षभरी नै खेलाडीले खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय स्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनीति नै लिएको समेत मन्त्री देउवाले बताएका छन् । उनले भने, ‘अब प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न अगाडि बढीरहेको छ । हामीले विद्यालय स्तरमा होस् या जिल्ला स्तरमा व्यवस्थित खेल संरचना निर्माण गर्न कार्य सुरु गरेका छौं ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, वैदेशिक लगानी भित्राउन मद्दत पुग्ने, रोजगारी सिर्जना गर्न, सामाजिक एकता र समृद्धिको आधारशिला तय गर्ने उनको भनाई थियो ।

मन्त्री देउवाले खेलकुदले अन्तरिक पर्यटनमासमेत टेवा पुर्‍याउने हुँदा प्रदेश सरकारले आयोजना गर्न लागिरहेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रका परियोजनालाई महत्त्व दिएको बताए ।

‘राष्ट्रिय क्रिकेट टिममा धेरै खेलाडी सुदूरपश्चिमका रहेका छन् । एउटा खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै देशको नाम चिनाउन ठुलो भूमिकाम खेल्ने गर्दछ । त्यसको मुल आधार नै विद्यालय क्षेत्र भएका कारण पनि यहाँले खेल खेल्दा सभ्य र अनुशासित हुन जरुरी छ’ उनले भने । 

यस्तै कार्यक्रमकी विशिष्ट अतिथि रहेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले जिल्लामा खेलक्षेत्रको विकास गर्न लागिपरेको बताइन् । उनले टुँडखेलकै नजिक रहेको खेलमैदानलाई स्तरोन्नती गर्ने योजना रहेको बताइन् । साथै उनले रनिङ शिल्डमा सहभागी खेलाडीलाई शुभकामना दिएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update